तत्कालीन जनकपुर अञ्चल, सिन्धुली जिल्ला, सिद्धेश्वर गाउँपञ्चायत र हालको बागमती प्रदेश, सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ५, सिलामे गाउँमा माता मान कुमारी श्रेष्ठ र पिता जयबहादुर श्रेष्ठको पाँचौ सन्तानका रूपमा वि.सं. २०२६ मा जन्मिएका गंगानारायण श्रेष्ठ राजनीतिकर्मीका साथसाथै विश्लेषक र साहित्यकार पनि हुन् ।उनको राजनीतिलगायत साहित्यका विभिन्न विधामा लेखिएका एक दर्जन पुस्तकहरु प्रकाशित छन् । वि.सं. २०४३ सालबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
तत्कालीन अ.ने.रा.स्व.वि.यू. (छैठौं) बाट संगठित राजनीति सुरु गरेका मन्त्री श्रेष्ठले अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) को केन्द्रीय महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने वि.सं. २०४५ सालमा नेकपा (मसाल) को पार्टी सदस्यता लिएर पार्टी राजनीति सुरु गरेका थिए । वि.सं. २०५२ मा सुरु भएको जनयुद्धको क्रममा ५ वर्ष ३ महिना कठोर जेल जीवन बिताएका मन्त्री श्रेष्ठले वि.सं. २०७२ मा नेकपा (माओवादी) परित्याग गरी डा. बावुराम भट्टराईसँग मिलेर नयाँ शक्ति पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। मन्त्री श्रेष्ठले माओवादी छाड्दा उनी त्यस पार्टीका पोलिटब्यूरो सदस्य थिए ।
मन्त्री श्रेष्ठ नयाँ शक्ति पार्टी, समाजवादी पार्टी, जनता समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको जिम्मेवारी सम्हाल्दै हाल नेपाल समाजवादी पार्टीको केन्द्रीय सहध्यक्ष छन् । वि.सं. २०६३ को अन्तरिम व्यवस्थापिका सदस्य बनेका मन्त्री श्रेष्ठसँग पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईको प्रमुख स्वकीय सचिव बनेर काम गरेको अनुभव पनि छ । मन्त्री श्रेष्ठ वि.सं.२०७० को दोश्रो संविधानसभाको निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट झिनो मतले पराजित भएका थिए । वि.सं. २०७९ को प्रदेश सभा निर्वाचनमा मन्त्री श्रेष्ठले सिन्धुली क्षेत्र नं. २ को २ बाट १३००१ मत प्राप्त गरी विजयी बनेका थिए । वि.सं. २०७९ माघ १३ गते बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका श्रेष्ठले २०७९ चैत्र १५ देखि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् ।